दर्शन सहितकाे साहित्य नै जीवन हाे । साहित्य जीवन र हामी बाँचिरहेकाे समय परिपूरक हुन् ।
Wednesday, March 30, 2016
कविता~म नभैदिए
म नभैदिए याे पृथ्वीमा
तिमीले सुन फलाउने बारी
तिम्राे बिगाैँ बिगाैँकाे बाँझो खेत
जाेतिने थिएन अाज सम्म
मसँग कला नभैदिए
सायद बन्ने थिएनन् हाेला फाली
बन्ने थिएनन् हाेला यतिका बर्ष सम्म काेदालाे
सायद हामीमा कला नभैदिएकाे भए
पक्कै बन्ने थिएनन् हाेला राष्ट्रिय झण्डा ।।
****
मेराे सीप नभैदिए
तिम्राे शरीरको पर्दा
सिलाउने मुन्छे हुने थिएनन्
मेराे जिन्दगीको अारन नभैदिए
तिम्राे जिन्दगीमा पाइन हुने थिएन
मेराे हातमा कला नभैदिए
चुलेसी, खुकुरी, तरबार भन्ने थिएनन्
मेराे जन्म नभैदिए याे धर्तीमा
सरकार तिम्राे अस्तित्व हुने थिएन ।।
****
तिमीले अछुत बनाएर मलाई
मुन्छे बनाई दिएका छाै
मैले माने सरकार
तिमीलाई हृदय देखि धन्यवाद
याे संसारकै उच्च मुन्छे बनाई दिएकाेमा ।।
****
तिमी र ममा के भिन्नता देख्याै
र अछुत बनायाै ?
मैले टेकेकाे माटाे र तिमीले टेकेकाे माटाे बिच
के भिन्नता देख्याै र मलाई तल्लो दर्जामा राख्याै
तिमी मन्दिरकाे पुजारी म सुचिकार बिच
त्यस्तो के भिन्नता देख्याै
र मन्दिरमा प्रवेश निषेध गरिन्छ
तिनै साइँला कामी हुन् त्रिशूल बनाउने
तिमीले दिएकाे काँचाे फलामलाई चुटेर
बनाएकाे हाे मुर्चुङ्गा
पगालेर फलामकाे डल्लो
बनाएकाे छअमुर्त अाकृति
अब भन त तिमी मुन्छे कि म ?
****
मैले सिलाएर पेटिकाेट
छाेप्न पाएकी छिन् अाफ्नाे लाज
यहि हात हाे ब्रा सिलाउने ब्लाउज सिलाउने
यदि याे हातमा कला नभैदिएकाे भए
जन्मदैकाे नाङ्गो तस्वीर छाेपिने थिएन
मैले नसिएकाे भए लगाैँटी
छाेपिन थिएन तिम्राे गुप्ताङ्ग
मैले टाेपि नै नसिलाएकाे भए
यतिबेला तिम्रो शिरमा सगरमाथा हुने थिएन
साथै बन्ने थिएन नेपाली पहिचान ।।
****
माइला सार्कीले बनाएकाे जुत्ताले
तिम्राे पैताला सजाउछ
कामी दाइले बनाएकाे कराइमा तरकारी पाक्छ
तिम्राे भाेक मेटाउन हाम्राे कला चल्छ
त कसरी भयाैँ हामी पानी नचल्ने मुन्छे ?
कसरी भयाैँ हामी याे समाजबाट तिरस्कार ?
हामी तिम्रो खुसीको निमित्त
पलपल मरेर बाँचेका छाैँ
मलाई तिमी बन्ने चाहना हैन
चाह मुन्छे बन्ने हाे
जसरी तिमी खुसीले बाँचेकाे छाै ।।
*****
बिडम्बना या विवस्ता
यही हत्केला हाे घन उचाल्ने
तिम्राे भविष्य चम्काउने मसँग कला थियो
र तिमी चम्कियाै चन्द्रमा जसरी
अनि कसरी भन्याै अाफैलाई ढाटेर
म तिम्राे खुसीको लागि बाँचेकाे हैन भनेर ।।
*****
अझै कुसंस्कार हट्न नसकेकाे समाजमा
हामी कलाकार बाँच्नुकाे कुनै अर्थ रहेन ।।
*****
कुनै हाेटेलमा एउटै टेबुलमा बसेर चिया खाँदा
तिमी बदलिएर कुनै जनावर हुँदैनाै
तर किन तिम्राे घरकाे सङ्घार टेक्नु हुन्न
तिमीले बाेकेकाे गाग्रीकाे पानी मैले छुँदा
किन गाेप्ट्याइन्छ गाग्रीकाे पानी
सुनपानीले छर्कदैमा तिमी मुन्छे हुने भए
महाशय ! किन बदलिँदैन तिम्राे बिचार ?
यदि म अशुद्ध मुन्छे हुँ भने भन्न सक्छाै ?
मानव उत्पत्तिमा मेराे पुर्खा काे हाे भनेर ?
जवाफ चाहिएकाे छ यतिबेला
जस्ले हामीलाई दमाई बनाएका छन्
जस्ले हामीलाई कामी बनाएका छन्
जस्ले हामीलाई सार्की बनाएका छन्
जस्ले हामीलाई वादी बनाएका छन्
जस्ले हामीलाई गन्धर्व बनाएका छन्
अनि जस्ले हामीलाई गाइने बनाएका छन्
र जस्ले हामीलाई अछुत बनाएका छन्
सरकार यही हाम्राे पिडै पिडाकाे दस्ताबेज ।।
*****
विक्रम पवन
बेथान~४, रामेछाप
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment