Saturday, August 6, 2016

नायक


-
बा !
यहाँ सबै तपाईंजस्तै भैदिए
तपाईंले जन्माएका सन्तानहरू
तपाईंले जस्तै सपनाहरू देख्थे भने
पक्कै पनि याे देश शोकमा हुने थिएन
हुने थिएन सडककाे जिन्दगी ।।
-
तपाईंले साेचेजस्ताे सरकार भैदिए
अाज तपाईंले नै छाेडेर
जानू भएका विधवा अामाहरू
सडकमा उभिएकाे सालिक हेर्दै
रुने थिएनन् सिउँदाे र देश सम्झेर
मुल फुट्ने थिएन अाँखाबाट
बगाउने थिएन अाफ्नै आँसुले जिन्दगी
ओइलिनु पर्ने थिएन लज्जावी फूल
फुङ्ग उड्ने थिएन नाङ्गाे पहाड जसरी
यी साना केटाकेटीहरूकाे रङ्गीन सपनाहरू ।।
-
अाकाशकाे भार थेग्न सक्ने छाती
सगरमाथालाई बाेक्न सक्ने थाप्लाे
माटाेकाे रङ्गले रंगाउने जिन्दगी
खै कता हरायाे / कस्ले खाेसेर लग्याे
बचपनमै लाउरे सपनाहरू ?
-
मेराे बा
घरपरिवारको माया खुत्रुक्के मुटुमा राखेर
अलिकति मुस्कानकाे दुवाे उमारेर
हिँडेका हुन् त्यतिबेला
देश बनाउने सपना बाेकेर
जानुभएको थियाे याे उकालै उकालाे
पसिनाका रङ्गहरूले रङ्गाउँदै पाखाहरू ।।
-
तर फर्केनु भएन अाज सम्म पनि घर
जाँदा सँगै लिएर जानू भएछ अाफ्नाे छाया
मलाई अामाकै गर्भमा छाडेर
धेरैले साेधेका हुन् तेराे बा खाेई ?
म धेरै पटक राेएकाे छु
अामाकाे मुस्कान हराएकाे अनुहार हेरेर
धेरै झरेका छन् आँखाबाट
हिरा जडित आँसुका ढिकाहरू
सायद यतिका वर्ष सम्म थुपारेर राखेकाे भए
बन्ने थियाे छाे- राेल्पा हिमताल भन्दा पनि ठूलो
तर विलाएर गए
असिना जस्तै गरि मेराे सपनाहरू ।।
-
मलाई देख्नेहरू जति भनिदिन्छन्
मेराे अनुहार बा काे जस्तै छ
म विश्वास कसरी गराैँ र भनुँ म बा जस्तै छु
मेराे आँखाहरू बादल भित्र लुकेका
जून तारा जस्ताे छ
देख्न सक्दैन एेनाबिना अाफ्नै जिन्दगी
म अन्याेलमा छु यतिबेला
मेराे अभागी निधार
मेराे जस्ताे कि बा काे जस्ताे ?
-
अामा भन्नुहुन्छ
बाबू ! तेराे बा घर छाडेर जाँदा
याे घरकाे ढाेका, झ्याल, टुँडाल सबसब
पुराना भएर पनि नयाँ थिए
अब त घरकाे छानाे पनि हुरीले उडाइ लग्याे
घरका भित्ताभरि तेराे बा का
प्रत्येक अाैँलाकाे डाम थियाे
अब त यी सबसब पुरियाे घर भत्किएर
तँलाई त्याे तेराे बा हाे भनेर
चिनाउने अाधार केही छैन मसँग
मसँग भएकाे मेरै आँखा पनि गुमाइ सकेकाे छु
हाे बाबू ! अब त मसँग पनि
तेराे बा काे स्पर्श मात्र बाँकी छ
छ न त तँसँग पनि छ तेराे बा काे स्पर्श
तर तँलाई चिनाउनै पाइनँ
बाबू ! यदि म नै मरे भनेँ
अब कस्ले भनी देला
तेराे बा यहि रामलाल हाे भनेर ।।
****
विक्रम पवन
बेथान-४, रामेछाप

Friday, April 8, 2016

गजल


















छाेडि गई दाेबाटाे मै बाटाे बिराएर
गएकी छे मुटु टुक्राटुक्रा बनाएर ।।
••
यही रक्सी बनेकाे छ माया गर्ने साथी
गल्ती गरि जानजानी चित्त दुखाएर ।।
••
शुन्य लाग्छ जिन्दगी याे अनि गाउँ बस्ती
यस्तो लाग्छ किन बाँच्नु अाँसु बगाएर ।।
••
बचनकाे पक्का छु म भन्थि त्यतिबेला
रुँदै साथ मागि मेराे हात समाएर ।।
••
सपनामा देखे जति पूरा कहाँ हुन्छ
हिँड्नु पर्ला ठाडाे शिर रुँदै झुक्याएर ।।
••
भयाे अब चाहिँदैन बनावटी माया
राख्नु राखेँ यै छातीमा उनै सजाएर ।।
••
विक्रमकाे जिन्दगीलाई खेल्नु खेलिकी छे
मेराे मन जिती छाडी भराेसा दिलाएर ।।
****
विक्रम पवन
बेथान-४- रामेछाप

हे इश्वर !



















 झर्याे अाँसु मेराे गरी तप्पतप्प
दुखे चस्स छाती गरी चस्स चस्स
लुटे बैँस मेरै लुटे जिन्दगानी
फुटे भाग्य व्यर्थै थियाे के बिरानी ।।
••
न अागाे न पानी भयाे जिन्दगानी
थियाे बाँच्नु धेरै गयाे जिन्दगानी
बिना गल्ति व्यर्थै चुटे चुट्नु सम्म
बगे रक्त धेरै दुखे दुख्नु सम्म ।।
••
कसैले भनेनन् कसैले बुझेनन् ।
गरेँ कै हुँ बिन्ती कसैले सुनेनन्
भयाे जिन्दगी याे उजाडै उजाड
कठै भन्छ कस्ले म देखी उदास ।।
••
खुसी भाग्नु भाग्याे बनाएर एक्लाे
जलेकाे छु अाफैँ भनूँ दाेष कस्काे
झरी जून तारा हुनै थ्याे बिहानी
गरेँ गल्ति केनै भिजायाे सिरानी ।।
••
उदाएर अायाे बनी घामकीरी
रमाएर अाई बनी जूनकीरी
गयाे बैँस मेराे जसै उड्छ रङ्ग
कहानी छ यस्तै जवानी छ फुङ्ग ।।
••
कला रैछ नाैलाे कठै निष्ठुरीकाे
पिएकै छु प्याला कथा जिन्दगीको
छुपाएर पीडा लुकाएर गाथा
नशीबै छ यस्ताे कठै कर्महारा
****
छन्द- भुजङ्गप्रयत्न
विक्रम पवन
बेथान-४- रामेछाप

कविता ~ मान्छे प्रेम र समय


भनेकी थिइन् एक सुन्दरीले
मेराे अनुहारकाे पहिचान गर्दै
राजकुमार तिमी मेराे जिन्दगी हाै
म तिम्राे जिन्दगी बन्न चाहन्छु
के तिमी मेराे चाहनालाई स्विकार्न सक्छाै ?
त्यतिबेला
म हाेस् गुमाएकाे मान्छेजस्तै भएकाे थिएँ
हाेस् खुल्दा मेराे टाउकाे उनकाे काखमा थियाे
उनकाे अाँखाभरि अाँसु थियाे
अाँसु पुछ्दै भनेकी थिइन्
राजकुमार !
जब जूनले कालाे टीका लगाउछ
त्यतिबेला हुनुपर्छ तिमी मेराे अंगालाेमा
त्यहि माैका छाेपेर समयले साइत जुराइ दिन्छ
ताराहरूले हामीलाई साथ दिने छन्
सुहाग मनाउँदा रात पर्दा भैदिन्छ
साक्षी समय भैदिन्छ
त्यतिबेला
तिमीले पक्का श्रीमान् भएकाे महसुस गर्छाै
मैले पनि तिम्राे मात्र तिम्राे
श्रीमती भएकाे महसुस गर्ने छु
त्यसपछि
तिमी र म मिलेर नयाँ जीवनकाे
अालेख तयार गर्नु पर्छ
किनकि हाम्राे जाेडी नमुना बन्न सकाेस्
इतिहासकाे पानामा कतै न कतै अटाउन सकाैँ
जसरी राम र सीता अटाएका थिए ।।
****
भराेसा दिलाइन् र माया स्विकारेँ
त्यसपछि मेराे वास्तविक कथा सुनाएँ
उनी तर्किदै गइन् मैले भन्दै गएँ
मलाई निकाल्दै गइन् हृदयबाट
खसाल्दै गइन् अाँखाबाट
केही समय अघिसम्म म अाँखाकाे नानी थिएँ
उनकाे छातीमा धड्कने मुटु थिएँ ।।
*****
छुट्ने बेला भनेकाे थिएँ
शिखा सुन त मेराे पनि केही सर्त छन्
म तिमीलाई सतीदेवी हुनु भन्दिनँ
मेराे मृत्युपछि सती जानू भन्दिनँ
म तिमीलाई जून टिपेर दिन्छु भन्दिनँ
म अाफ्नाे अाैकात बिर्सन सक्दिनँ
सुखैसुखमा राख्छु भन्न सक्दिनँ
मेराे घर सहरमा छ भनेर ढाट्न सक्दिनँ
मेराे पजेरो छ भन्न सक्दिनँ
तिम्राे लागि बनारसि सारी किन्न सक्दिनँ
म तिमीलाई सुनकाे हार दिन सक्दिनँ
तिम्राे जस्ताे दस तलाकाे घर छैन
बाइककाे याक्सिलेटर समाएका तिम्रा हातले
जाँताे घुमाउन सक्ला या नसक्ला
काेदालाे समाएर बाँझाे बारी
खन्न सक्छ्याै कि सक्दिनाै
हाे शिखा
मेराे सानाे झुपडी छ
छानाे खरकाे छ
पानीकाे थाेपा सम्म छेक्न सक्दैन
घरका भित्ताहरू माटाेले लेपिएका छन्
सम्पतिमा दुईवटा मेसिन छन्
कसैकाे लुगा सिलाएर
ज्याला नथापे खाना पुग्दैन
मेराे जिन्दगीको एक हिस्सा यही कथा हाे
सिरानी धर्ती छ
सिरक खुला अाकाश छ
जिन्दगी डमाडाेल छ
पिठाेकाे खाेले र फाँडाे खाएर बाँच्नु पर्छ
तिमी चाैरासी व्यञ्जन भाेजन गरेकाे मान्छे
म सिस्नाे खाएर हुर्केकाे मान्छे
तिमी माछाकाे राेस्टा, छाेइला,
कचेला, मचेला खाएर बाँचेकी हाै
म गुन्द्रुक र काेदाेकाे ढिडाे खाएकाे मान्छे
अब भन त शिखा
के तिमी अझै मलाई मन पराउछ्याै ?

 **************************
विक्रम पवन
बेथान~४, रामेछाप 



गजल
















 गगनमा हेर तारा कति कति
धरतीमा कुवा धारा कति कति ।।

विधवाकाे अाँसु बग्याे धेरै चाेटि
बग्दा अाँसु बने रारा कति कति

निदरीमा राति छल गरे पछि
सपनिमा देखेँ दारा कति कति

बनेकाे छ देश ढुङ्गा माटाे मिली
पहाडमा हेर गारा कति कति
****
विक्रम पवन
बेथान~४, रामेछाप
(साभार : आफ्नै कृति "जलेकाे मुटु" गजल सङ्ग्रह बाट)

कविता~ ईश्वरले वरदान

 
बा भन्नू हुन्छ बाबू तँ स्कुल नजानू
मेसिन देखाउदै भन्नू हुन्छ
बाबू तेराे लागि मेसिन किनी दिएकाे छु
जिम्बल बासँग ऋण लिएर
हाे बाबू याे तेरै लागि हाे
मात्र तेरै लागि अब हामीलाई तैले पाल्नु पर्छ
मर्ने बेला अामाकाे फरिया देखाउँदै भन्नू भएकाे थियाे
बाबू तैँले किनिदिनु फरिया
मैले बाँचुन्जेल राम्ररी माया दिन सकिनँ
चप्पल किनेर दिन सकिनँ
तिमीहरू मेरै खुसीको लागि बाँच्याै
कहिल्यै मागेनाै एक रुपैयाँ
बरू हिँड्याै खाली पैतला बजार्दै बजार्दै
वास्त गरेनाै काडाँले बिज्दा सम्म
बाबू ! मलाई माफ गर
तिमीहरूको भविष्य बनाउन सकिन ।।
•••
सासकाे पाेया चुडिनु अघि भन्नू भएकाे थियाे
बाबू मेराे मृत्युमा तिमी नराेउ है !
भन त ! तिमी नै राेयाै भने
कस्ले पुछि दिन्छ अाँसु ?
कस्ले सम्झाउछ तिमीलाई ?
अनि कस्ले समहाल्छ अामालाई ?
अब तिमी नै हाै याे घर रङ्ग्याउने
तिमी नै हाै याे घरकाे माली
राम्ररी गाेडमेल गर्नु
र फुलाउनु मैले फुलाउन नसकेकाे खुसी
हेरूँला तिम्राे शिरमाथिबाट उभिएर
हाे बाबू कहिले छाया बनेर हेरूँला
कहिले घाम बनेर हेरूँला
कहिले जून बनेर हेरूँला
त कहिले तारा बनेर हेरूँला
हरहमेशा म तिम्रै साथ हुनेछु
तर बाबू नेताले जसरी शिर नझुकाउनु
सक्छाै देशकाे नक्सा बनाएर बेच्नु
सगरमाथाकाे पानी पियर बाँच्नु
बाबू सास राेकिनै लाग्याे
वाधा गर याे देश बेच्दिनँ भनेर ।।
••
बगैँचामा फुलेकाे फूल देखेर टप्प नटिप्नू
गुँडमा बसेका चराहरूलाई नउडाउनू
बाँस बसिरेका बचेराहरू भाेकभाेकै मर्छन्
नबनाउ कसैलाई टुहुरा
कसैकाे बा हुन सक्छन्
कसैकाे अामा हुन सक्छिन्
कसैकाे छाेराछारी हुन सक्छन्
हाे बाबू कसैकाे खुसी लुट्नु अपराध हाे ।।
••
थाहा छैन अझै कति बाँचिने हाे
कहिले सम्म घाेपिने हाे जिन्दगी
सियाेले अझै कति बनाउने हाे प्वाल
अामा पिसी रहनु भएकाे छ अाफैलाई
सिलाैटाेमा राखेर भाग्य
खिइँदै गएकाे छ हात र अाैलाहरू
तै पनि
हत्केलामा उठेका फाेका देखाउदै भन्नू हुन्छ
बाबू यहि हाे हामी गरीबहरूकाे भाग्य
यही हाे हाम्राे जिन्दगी
यही हाे ईश्वरको वरदान
हाे बाबू यही हाे तिमीहरूको खुसी
यसलाई जतन गरेर राखेस्
कुनै बेला हेर्न मन लागे
ऐना अगाडि उभिएर हेर्नू
सब सब देखिन्छ किरमिर किरमिर भाग्य
त्यतिबेला सम्झनू हरिभक्त कटवाललाई
सब ठिक हुन्छ अाला घाउहरू ।।
****
विक्रम पवन
बेथान~४, रामेछाप

Wednesday, March 30, 2016

कविता~म नभैदिए






                                                                                                                                                                

म नभैदिए याे पृथ्वीमा
तिमीले सुन फलाउने बारी
तिम्राे बिगाैँ बिगाैँकाे बाँझो खेत
जाेतिने थिएन अाज सम्म
मसँग कला नभैदिए
सायद बन्ने थिएनन् हाेला फाली
बन्ने थिएनन् हाेला यतिका बर्ष सम्म काेदालाे
सायद हामीमा कला नभैदिएकाे भए
पक्कै बन्ने थिएनन् हाेला राष्ट्रिय झण्डा ।।
****
मेराे सीप नभैदिए
तिम्राे शरीरको पर्दा
सिलाउने मुन्छे हुने थिएनन्
मेराे जिन्दगीको अारन नभैदिए
तिम्राे जिन्दगीमा पाइन हुने थिएन
मेराे हातमा कला नभैदिए
चुलेसी, खुकुरी, तरबार भन्ने थिएनन्
मेराे जन्म नभैदिए याे धर्तीमा
सरकार तिम्राे अस्तित्व हुने थिएन ।।
****
तिमीले अछुत बनाएर मलाई
मुन्छे बनाई दिएका छाै
मैले माने सरकार
तिमीलाई हृदय देखि धन्यवाद
याे संसारकै उच्च मुन्छे बनाई दिएकाेमा ।।
****
तिमी र ममा के भिन्नता देख्याै
र अछुत बनायाै ?
मैले टेकेकाे माटाे र तिमीले टेकेकाे माटाे बिच
के भिन्नता देख्याै र मलाई तल्लो दर्जामा राख्याै
तिमी मन्दिरकाे पुजारी म सुचिकार बिच
त्यस्तो के भिन्नता देख्याै
र मन्दिरमा प्रवेश निषेध गरिन्छ
तिनै साइँला कामी हुन् त्रिशूल बनाउने
तिमीले दिएकाे काँचाे फलामलाई चुटेर
बनाएकाे हाे मुर्चुङ्गा
पगालेर फलामकाे डल्लो
बनाएकाे छअमुर्त अाकृति
अब भन त तिमी मुन्छे कि म ?
****
मैले सिलाएर पेटिकाेट
छाेप्न पाएकी छिन् अाफ्नाे लाज
यहि हात हाे ब्रा सिलाउने ब्लाउज सिलाउने
यदि याे हातमा कला नभैदिएकाे भए
जन्मदैकाे नाङ्गो तस्वीर छाेपिने थिएन
मैले नसिएकाे भए लगाैँटी
छाेपिन थिएन तिम्राे गुप्ताङ्ग
मैले टाेपि नै नसिलाएकाे भए
यतिबेला तिम्रो शिरमा सगरमाथा हुने थिएन
साथै बन्ने थिएन नेपाली पहिचान ।।
****
माइला सार्कीले बनाएकाे जुत्ताले
तिम्राे पैताला सजाउछ
कामी दाइले बनाएकाे कराइमा तरकारी पाक्छ
तिम्राे भाेक मेटाउन हाम्राे कला चल्छ
त कसरी भयाैँ हामी पानी नचल्ने मुन्छे ?
कसरी भयाैँ हामी याे समाजबाट तिरस्कार ?
हामी तिम्रो खुसीको निमित्त
पलपल मरेर बाँचेका छाैँ
मलाई तिमी बन्ने चाहना हैन
चाह मुन्छे बन्ने हाे
जसरी तिमी खुसीले बाँचेकाे छाै ।।
*****
बिडम्बना या विवस्ता
यही हत्केला हाे घन उचाल्ने
तिम्राे भविष्य चम्काउने मसँग कला थियो
र तिमी चम्कियाै चन्द्रमा जसरी
अनि कसरी भन्याै अाफैलाई ढाटेर
म तिम्राे खुसीको लागि बाँचेकाे हैन भनेर ।।
*****
अझै कुसंस्कार हट्न नसकेकाे समाजमा
हामी कलाकार बाँच्नुकाे कुनै अर्थ रहेन ।।
*****
कुनै हाेटेलमा एउटै टेबुलमा बसेर चिया खाँदा
तिमी बदलिएर कुनै जनावर हुँदैनाै
तर किन तिम्राे घरकाे सङ्घार टेक्नु हुन्न
तिमीले बाेकेकाे गाग्रीकाे पानी मैले छुँदा
किन गाेप्ट्याइन्छ गाग्रीकाे पानी
सुनपानीले छर्कदैमा तिमी मुन्छे हुने भए
महाशय ! किन बदलिँदैन तिम्राे बिचार ?
यदि म अशुद्ध मुन्छे हुँ भने भन्न सक्छाै ?
मानव उत्पत्तिमा मेराे पुर्खा काे हाे भनेर ?
जवाफ चाहिएकाे छ यतिबेला
जस्ले हामीलाई दमाई बनाएका छन्
जस्ले हामीलाई कामी बनाएका छन्
जस्ले हामीलाई सार्की बनाएका छन्
जस्ले हामीलाई वादी बनाएका छन्
जस्ले हामीलाई गन्धर्व बनाएका छन्
अनि जस्ले हामीलाई गाइने बनाएका छन्
र जस्ले हामीलाई अछुत बनाएका छन्
सरकार यही हाम्राे पिडै पिडाकाे दस्ताबेज ।।
*****
विक्रम पवन
बेथान~४, रामेछाप