Saturday, August 6, 2016

नायक


-
बा !
यहाँ सबै तपाईंजस्तै भैदिए
तपाईंले जन्माएका सन्तानहरू
तपाईंले जस्तै सपनाहरू देख्थे भने
पक्कै पनि याे देश शोकमा हुने थिएन
हुने थिएन सडककाे जिन्दगी ।।
-
तपाईंले साेचेजस्ताे सरकार भैदिए
अाज तपाईंले नै छाेडेर
जानू भएका विधवा अामाहरू
सडकमा उभिएकाे सालिक हेर्दै
रुने थिएनन् सिउँदाे र देश सम्झेर
मुल फुट्ने थिएन अाँखाबाट
बगाउने थिएन अाफ्नै आँसुले जिन्दगी
ओइलिनु पर्ने थिएन लज्जावी फूल
फुङ्ग उड्ने थिएन नाङ्गाे पहाड जसरी
यी साना केटाकेटीहरूकाे रङ्गीन सपनाहरू ।।
-
अाकाशकाे भार थेग्न सक्ने छाती
सगरमाथालाई बाेक्न सक्ने थाप्लाे
माटाेकाे रङ्गले रंगाउने जिन्दगी
खै कता हरायाे / कस्ले खाेसेर लग्याे
बचपनमै लाउरे सपनाहरू ?
-
मेराे बा
घरपरिवारको माया खुत्रुक्के मुटुमा राखेर
अलिकति मुस्कानकाे दुवाे उमारेर
हिँडेका हुन् त्यतिबेला
देश बनाउने सपना बाेकेर
जानुभएको थियाे याे उकालै उकालाे
पसिनाका रङ्गहरूले रङ्गाउँदै पाखाहरू ।।
-
तर फर्केनु भएन अाज सम्म पनि घर
जाँदा सँगै लिएर जानू भएछ अाफ्नाे छाया
मलाई अामाकै गर्भमा छाडेर
धेरैले साेधेका हुन् तेराे बा खाेई ?
म धेरै पटक राेएकाे छु
अामाकाे मुस्कान हराएकाे अनुहार हेरेर
धेरै झरेका छन् आँखाबाट
हिरा जडित आँसुका ढिकाहरू
सायद यतिका वर्ष सम्म थुपारेर राखेकाे भए
बन्ने थियाे छाे- राेल्पा हिमताल भन्दा पनि ठूलो
तर विलाएर गए
असिना जस्तै गरि मेराे सपनाहरू ।।
-
मलाई देख्नेहरू जति भनिदिन्छन्
मेराे अनुहार बा काे जस्तै छ
म विश्वास कसरी गराैँ र भनुँ म बा जस्तै छु
मेराे आँखाहरू बादल भित्र लुकेका
जून तारा जस्ताे छ
देख्न सक्दैन एेनाबिना अाफ्नै जिन्दगी
म अन्याेलमा छु यतिबेला
मेराे अभागी निधार
मेराे जस्ताे कि बा काे जस्ताे ?
-
अामा भन्नुहुन्छ
बाबू ! तेराे बा घर छाडेर जाँदा
याे घरकाे ढाेका, झ्याल, टुँडाल सबसब
पुराना भएर पनि नयाँ थिए
अब त घरकाे छानाे पनि हुरीले उडाइ लग्याे
घरका भित्ताभरि तेराे बा का
प्रत्येक अाैँलाकाे डाम थियाे
अब त यी सबसब पुरियाे घर भत्किएर
तँलाई त्याे तेराे बा हाे भनेर
चिनाउने अाधार केही छैन मसँग
मसँग भएकाे मेरै आँखा पनि गुमाइ सकेकाे छु
हाे बाबू ! अब त मसँग पनि
तेराे बा काे स्पर्श मात्र बाँकी छ
छ न त तँसँग पनि छ तेराे बा काे स्पर्श
तर तँलाई चिनाउनै पाइनँ
बाबू ! यदि म नै मरे भनेँ
अब कस्ले भनी देला
तेराे बा यहि रामलाल हाे भनेर ।।
****
विक्रम पवन
बेथान-४, रामेछाप

No comments:

Post a Comment