Friday, April 8, 2016

कविता ~ मान्छे प्रेम र समय


भनेकी थिइन् एक सुन्दरीले
मेराे अनुहारकाे पहिचान गर्दै
राजकुमार तिमी मेराे जिन्दगी हाै
म तिम्राे जिन्दगी बन्न चाहन्छु
के तिमी मेराे चाहनालाई स्विकार्न सक्छाै ?
त्यतिबेला
म हाेस् गुमाएकाे मान्छेजस्तै भएकाे थिएँ
हाेस् खुल्दा मेराे टाउकाे उनकाे काखमा थियाे
उनकाे अाँखाभरि अाँसु थियाे
अाँसु पुछ्दै भनेकी थिइन्
राजकुमार !
जब जूनले कालाे टीका लगाउछ
त्यतिबेला हुनुपर्छ तिमी मेराे अंगालाेमा
त्यहि माैका छाेपेर समयले साइत जुराइ दिन्छ
ताराहरूले हामीलाई साथ दिने छन्
सुहाग मनाउँदा रात पर्दा भैदिन्छ
साक्षी समय भैदिन्छ
त्यतिबेला
तिमीले पक्का श्रीमान् भएकाे महसुस गर्छाै
मैले पनि तिम्राे मात्र तिम्राे
श्रीमती भएकाे महसुस गर्ने छु
त्यसपछि
तिमी र म मिलेर नयाँ जीवनकाे
अालेख तयार गर्नु पर्छ
किनकि हाम्राे जाेडी नमुना बन्न सकाेस्
इतिहासकाे पानामा कतै न कतै अटाउन सकाैँ
जसरी राम र सीता अटाएका थिए ।।
****
भराेसा दिलाइन् र माया स्विकारेँ
त्यसपछि मेराे वास्तविक कथा सुनाएँ
उनी तर्किदै गइन् मैले भन्दै गएँ
मलाई निकाल्दै गइन् हृदयबाट
खसाल्दै गइन् अाँखाबाट
केही समय अघिसम्म म अाँखाकाे नानी थिएँ
उनकाे छातीमा धड्कने मुटु थिएँ ।।
*****
छुट्ने बेला भनेकाे थिएँ
शिखा सुन त मेराे पनि केही सर्त छन्
म तिमीलाई सतीदेवी हुनु भन्दिनँ
मेराे मृत्युपछि सती जानू भन्दिनँ
म तिमीलाई जून टिपेर दिन्छु भन्दिनँ
म अाफ्नाे अाैकात बिर्सन सक्दिनँ
सुखैसुखमा राख्छु भन्न सक्दिनँ
मेराे घर सहरमा छ भनेर ढाट्न सक्दिनँ
मेराे पजेरो छ भन्न सक्दिनँ
तिम्राे लागि बनारसि सारी किन्न सक्दिनँ
म तिमीलाई सुनकाे हार दिन सक्दिनँ
तिम्राे जस्ताे दस तलाकाे घर छैन
बाइककाे याक्सिलेटर समाएका तिम्रा हातले
जाँताे घुमाउन सक्ला या नसक्ला
काेदालाे समाएर बाँझाे बारी
खन्न सक्छ्याै कि सक्दिनाै
हाे शिखा
मेराे सानाे झुपडी छ
छानाे खरकाे छ
पानीकाे थाेपा सम्म छेक्न सक्दैन
घरका भित्ताहरू माटाेले लेपिएका छन्
सम्पतिमा दुईवटा मेसिन छन्
कसैकाे लुगा सिलाएर
ज्याला नथापे खाना पुग्दैन
मेराे जिन्दगीको एक हिस्सा यही कथा हाे
सिरानी धर्ती छ
सिरक खुला अाकाश छ
जिन्दगी डमाडाेल छ
पिठाेकाे खाेले र फाँडाे खाएर बाँच्नु पर्छ
तिमी चाैरासी व्यञ्जन भाेजन गरेकाे मान्छे
म सिस्नाे खाएर हुर्केकाे मान्छे
तिमी माछाकाे राेस्टा, छाेइला,
कचेला, मचेला खाएर बाँचेकी हाै
म गुन्द्रुक र काेदाेकाे ढिडाे खाएकाे मान्छे
अब भन त शिखा
के तिमी अझै मलाई मन पराउछ्याै ?

 **************************
विक्रम पवन
बेथान~४, रामेछाप 



No comments:

Post a Comment